ढोरपाटन दैनिक नवौ वर्षमा प्रवेश बागलुङ, भदौं


युनिक सञ्चार सहकारी संस्था लि.द्वारा प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिक नवौ वर्षमा प्रवेश गरेको छ । आठौं वर्षसाँठको अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले खोजमुलक पत्रकारिताको विकास गर्दै आएको ढोरपाटन राष्ट्रिय दैनिकलाई मोफसलको नमुना पत्रिका बनाउन सुझाव दिएका छन् । 
पत्रिका चलाउन सहज नभएपनि ढोरपाटनले आर्थिक लगायत विभिन्न चुनौतिका पहाडहरु छिचोल्दै जनतामा सूचनाको हक स्थापित गर्न सफल भएको बताउँदै ढोरपाटनको निरन्तरताको कामना गरेका थिए । ‘सूचनामार्फत सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक रुपान्तरणमा ढोरपाटनले महत्वपुर्ण भुमिका खेलेको चर्चा गर्दै वक्ताहरुले भने, ‘ढोरपाटनलाई सशक्त बनाउने दायित्व आमनागरिकको हो ।’
पत्रिकालाई सहकारी मार्फत संचालन गर्न लागेर ढोरपाटनले सबैको साझा पत्रिका बनाउने अभियानको शुरुवात गरेको बताउँदै वक्ताहरुले सहकारी मार्फत पत्रिका संचालन गर्दा सबैमा अपनत्वको भावना जाग्ने बताएका थिए । इकाईमा रहेका सहकारी पुँजीवाद विरुद्व लड्न एक अस्त्र भएको बताउँदै वक्ताहरुले इकाईमा रहेका सहकारीलाई एकीकृत गर्नुपर्नेमा जोड दिएका थिए । 
वार्षिकोत्सवको अवसरमा धौलागिरिको साहित्य र सञ्चारको क्षेत्रमा योगदान पु¥याउनु हुने बागलुङ नगरपालिका–३ का लालचन्द्र राजभण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भने, बागलुङ दक्षिण क्षेत्र रहेर समाचार सम्प्रेषण गर्ने मित्र थापालाई उत्कृष्ट पत्रकारको रुपमा नगद १५ सय र प्रशंसा पत्रले सम्मान गरिएको छ ।
यसैगरी, ढोरपाटनमा वर्षभरि स्तम्भकारका रुपमा लेख लेख्ने दिल निशानी मगर,  ढोरपाटन बाहिर रहेर पनि ढोरपाटनलाई निरन्तर सहयोग गर्नुहुने आदिवासी जनजाति पत्रकार संघ (अनिज) बागलुङका संयोजक तथा पत्रकार दिल शिरीष र वर्षभरि विज्ञापन उपलब्ध गराउने राज मोबाइल घरका राजु विकलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।  
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी डोलराज ढकाल, राजनीतिक दलको तर्फबाट एनेकपा माओवादीका जिल्ला सेक्रेटरी टेकबहादुर क्षेत्री आजाद, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष कृष्ण शंकर श्रेष्ठ, सम्मानित व्यक्तित्व लालचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए । 
युनिक सञ्चार सहकारी संस्था लिका सदस्य के.वि.राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्मानित व्यक्तित्व लालचन्द्र राजभण्डारीको व्यक्तित्वबारेमा सहकारीका सदस्य तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष रामबहादुर जिसीले जानकारी, स्वागत ढोरपाटन दैनिक प्रबन्ध सम्पादक मुकेशचन्द्र राजभण्डारी र संचालन सम्पादक हरिनारायण गौतमले गरेका थिए । 

अल्पसंख्यक कुमाल बालबालिकाले पढ्ने विद्यालय जोखिममा कृष्ण संयोग बागलुङ, भदौ






सरकारी निकायले सहयोग नगर्दा अल्पसङ्ख्यक कुमाल समुदायका बालबालिकाले पढ्दै आएको बागलुङ जिल्लाको दगातुम्डाँडा गाविसस्थित चण्डीथान प्राथमिक विद्यालय सञ्चालनमा कठिनाई भएपछि बन्द हुने अवस्थामा पुगेको छ । २०५७ सालमा स्थापना  भएको विद्यालयले सरकारी निकायबाट सहयोग नपाएपछि विद्यालय बन्द हुने अवस्थामा पुगेको हो । 
‘विद्यालय सुरु भएको एक दशकसम्म पनि विद्यालयमा दरवन्दी पाएका छैनौँ, ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माया घिमिरेले भनिन्, ‘शिक्षकलाई तलव खुवाउने श्रोत जुटाउन नसक्दा विद्यालय संचालनमा कठिनाई भएको छ ।’ करिब डेढ सय कुमाल बालबालिकाले अध्ययन गर्ने चण्डीथान विद्यालयमा कक्षा ३ सम्मको पढाई हुन्छ ।
विद्यालयमा तीनै जना शिक्षकलाई समुदायले नीजि श्रोतमा तलव खुवाउने गरेका छन् । विद्यालयमा भौतिक पूर्वाधार समेत नहुँदा कक्षा सञ्चालनमा कठिनाई भएको विद्यालयले जनाएको छ । बस्ने ठाउँ नभएपछि केही विद्यार्थीलाई छिमेकी विद्यालयमा पठाएको विद्यालयका प्रधानाध्यापक श्यामकला कुमालले बताइन् । 
विद्यार्थी भर्ना गर्न सक्दैनौँ भन्दा अभिभावकको हप्की खानु परेको  शिक्षिकाको भनाई छ । ‘विद्यार्थी भर्ना गरौँ भने राखेर पढाउने ठाउँ छैन, ’ शिक्षिका देवी कुमालले भनिन्, ‘घर छेउकै स्कुलमा भर्ना नगर्ने भन्दै अभिभावक रिसाउँछन् ।’ विद्यालयमा कक्षा कोठा र फर्निचरको अभावले २५ विद्यार्थीलाई त्रिभुवन मावि र दगा–६ मा रहेको सरस्वती प्रा.वि.मा पठाईएको विद्यालयको भनाई छ । 
आर्थिक झेलिरहेको विद्यालय अहिले सामुदायिक वन, आमा समूह र स्थानीयको आर्थिक सहयोगमा थामिएको छ । विद्यालयमा स्थानीय स्रोतबाट पढाउने शिक्षकले मासिक एक हजार तलबमा पढाउने गरेका छन्  । ‘आफ्नै गाउँका बालबालिका शिक्षित हुने भएकोले उचित तलब नपाएपनि पढाई रहेका छौ,’ शिक्षिका लक्ष्मी सापकोटाले भनिन् । 

भलिवल खेलेर ४ लाख आम्दानी बागलुङ,साउन

गाउँमा हुने मेला महोत्सव, चार्डपर्व तथा विभिन्न संघ संस्थाले आयोजना गर्ने भलिवल प्रतियोगितामा सहभागी भई म्याग्दीको एक क्लबले ९ महिनामा ४ लाख भन्दा बढी आम्दानी गरेको छ । खेलमा अपराजित भन्ने थाहा नभएको म्याग्दी जिल्ला घतान गाविसस्थित काउलेगौंडा युवा क्लबले भलिवल प्रतियोगितामा गएको ९ महिनामा ४ लाख १० हजार आम्दानी गरेको हो । 
गाउँ घरमा हुने विभिन्न मेला तथा महोत्सबमा आयोजित २० प्रतियोगितामा अपराजित रहँदै काउलेगौडा युवा क्लबले ४ लाख १० हजार आम्दानी गरेको क्लबका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । ‘गएको भदौमा जिल्लाको पात्लेखेत गाविसमा सम्पन्न हरेलो मेलामा पहिलो भई २० हजार नगद पुरस्कार जितको क्लबले पछिल्ला १० खेलामा हार्नु परेको छैन’ अध्यक्ष बानियाँले बताए । 
       क्लबले सहभागीता जनाएका २० खेलमध्ये सवैभन्दा ठूलो पुरस्कार पश्चिम म्याग्दीको दरवाङमा आयोजीत दरवाङ महोत्सबमा ५० हजार जितेको थियो । भने सबै भन्दा कम पुरस्कार घतान गाविसकै नवविहानी युवा क्लबले राखेको वडा स्तरीय भलिबल प्रतियोगीतामा ५ हजार जितेको थियो । 
       काउलेगौंडा युवा क्लबले ०६७ भदौमा वाखेतमा २० हजार, असोजमा तोरीपानीमा १० हजार, बेगखोलामा २० हजार, असोजमै कुहुँमा २० हजार, भिरमुनीमा १६ हजार र घतानमा २० हजार राशिको पुरस्कार जितेको छ । त्यस्तै कार्तिकमा स्यालीखेतमा ५ हजार, नेप्टेचौरमा ८ हजार, बगरफाँटमा १२ हजार, पुसमा पर्वतमा भएको भलिबल प्रतियोगीतामा १६ हजार, रायखोरम २२ हजार, पर्वतको मिलनचोकमा २० हजार, गलेश्वरमा ३० हजार, चिमखोलामा २५ हजार, राखुमा २० हजार, दग्नाममा १६ हजार, पात्लेखेतमा ३० हजार, गलेश्वरमा २५ हजार र पछिल्लो पटक ०६८ बैशाख ७ गते दरवाङमा ५० हजार राशीको पुरस्कार जितेको थियो । 
       म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थी रहेका काउलेगौडा युवा क्लब खेलाडि आफुहरुलाई भलिवल खेलमा समर्पित गर्ने बताउँछन् । क्लबले विभिन्न प्रतियोगिताबाट संकलन गरेको रकमलाई खेल क्षेत्र र सामाजिक विकासको क्षेत्रमा खर्चिने क्लबका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । 

जुवा खेल्दा पक्राउ परेका नेता छुटाउन नेताहरुको दबाब बागलुङ साउन

जिल्ला प्रहरी कार्यालय बागलुङले जुवा खेलेको आरोपमा नेपाली कांग्रेस बागलुङका पुर्व सभापति हरिप्रसाद श्रेष्ठसहित ५ जनालाई मंगलबार पक्राउ गरेको छ । बागलुङ नगरपालिका–३ निवासी कल्याण वझाको घरमा जुवा तास खेलिरहेको अवस्थामा नेपाली कांग्रेस बागलुङका निवर्तमान सभापति ६५ बर्षीय हरिप्रसाद श्रेष्ठ सहित ५ जनालाई मंगलबार दिउँसो ३ बजे पक्राउ गरेको हो । 
श्रेष्ठलाई छुटाउन नेपाली काग्रेसका सभापति प्रकाश पौडेल, उप–सभापति जगदिशचन्द्र उपाध्याय, सचिव हरि खड्का, एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी टेकबहादुर केसी आजाद, नेकपा एमालेका जिल्ला अध्यक्ष जनक पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, राष्ट्रिय जनशक्ति पार्टीका शैलेन्द्रकुमार श्रेष्ठ, नेकपा मालेका केन्द्रीय सदस्य तिलकबहादुर रिजाल, जिल्ला सचिव चन्द्रबहादुर क्षेत्री लगायत अन्य साना दलका प्रमुख तथा प्रतिनिधिहरु दबाब दिएका हुन् । 

पेस्तोल देखाएर चोरी


जिल्लाको भीमापोखरा गाविसमा सोमबार राती नकाबधारी समूहले पेस्तोल र छुरा देखाएर एक घरमा चोरी गरेका छन् । भीमापोखरा ५ गैराथोक निवासी बलबहादुर भण्डारीको घरमा राती करिब १२ बजे नकाबधारी दुई जनाले पेस्तोल र छुरा देखाई ८ तोला सुनका गरगहना, ३ सेट मोवाईल र ३ हजार रुपैयाँ नगद लुटेको पीडित भण्डारीले बताए । 
नकाबधारी समूहले घरमा रहेका ४ सदस्यलाई कोठामा थुनेर धनमाल लुटेका थिए । चोरीको खवर पाए लगतै मंगलबार बिहान दोबिल्ला प्रहरी चौकीका सहायक निरीक्षक चक्रपाणी पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगको थियो । लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘परिवारले दिएको हुलियाको आधारमा लुटेराहरुको खोजी कार्य भईरहेको छ’ साहयक निरीक्षक पौडेलले भने । 

२० महिनासम्म राहात पाएनन् बागलुङ, साउन


धन कमाउन साउदी पुगेका अभिभावक कविराज परियारको हत्या भएपछि परिवारको बागलुङ जिल्ला छिस्ती–७ का एक परिवारलाई गुजारा चलाउन समस्या भएको छ । साउदीको तामेमी कंपनीमा कार्यरत परियारलाई अज्ञात समूहले  २०६६ असोज १८ खुकुरी प्रहार गरी हत्या गरेको थियो । परियारको मृत्युपछि श्रीमती विष्णुमाया र छोराछोरी साहाराविहिन भएका छन् ।
पतिले कम्पनीमा काम गरेको  तलब र क्षतिपुर्ती ५ लाख पाउनुपर्ने भएपनि अहिलेसम्म एक रुपैयाँपनि नपाएपछि मृतककी श्रीमति विष्णुमायाले बताईन् । ‘कम्पनीबाट पाउनु पर्ने एक बर्षको तलब पनि बाँकी थियो,’ विष्णुमायाले भनिन्,‘ अहिलेसम्म कुनै रकम पाएको छैन ।’ 
उनका पतिको शव हत्याको छ महिना पछाडी आएको थियो । पतिको विगोयमा विष्णुमाया समेत कमजोर भएर ज्याला मदजुरी गर्न नसक्ने अवस्थामा पुगेकी छिन् । उनका छोराछोरी अहिले स्कुल जान छाडेका छन् । स्कुल जानुको साटो मजदुरी गर्न जान थालेको विष्णुमायाले बताईन् । ‘काम पाएसम्म काम गर्न जान्छन्,’ उनले भनिन्,‘ फुर्सद भए स्कुल जान्छन् ।

बोका नियन्त्रण कृष्ण संयोग बागलुङ, साउन


स्वास्थ्य परीक्षण नगराई पोखराबाट बागलुङ बजार ल्याउँदै गरिएका ३२ ओटा बोका प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि पशु सेवा कार्यालयलाई बुझाएको छ ।