राजेशले तीन दिन मनाए यस वर्षको जन्मदिन


नेपाली चलचित्रका महानायक राजेश हमालले यस वर्षको आफ्नो जन्मदिन तीन दिन मनाएका छन् ।
राजेशले आफ्नो ४८औँ वर्ष बुधबार अपराह्न राजधानीको गोपीकृष्ण हलमा मनाए । गोपीकृष्णमा चलचित्र दुलही’को प्रिमियर सोको अवसरमा निर्माणपक्षले राजेशलाई चाबहिलको धोबीखोलादेखि गोपीकृष्ण हलसम्म दुलाहा बनाएर पञ्चेबाजा र जन्तीसहित लगेका थिए । यस्तै जन्तीसँगै बेहुलीका रूपमा चलचित्रकी बेहुली सुमिना घिमिरे थिइन् ।
जन्तीका साथ दुलाहा बनेर गोपीकृष्ण हल पुगेका राजेशले आफ्नो जन्मदिन भन्दै केक काटे र सबैलाई केक पनि खुवाए अनि आफूले पनि खाए । योसँगै त्यहाँ उपस्थित सबैले राजेशलाई जन्मदिनको शुभकामना दिए ।
यसरी बुधबार साँझ गोपीकृष्ण हलमा केक काटेर जन्मदिन मनाएका राजेशले बिहीबार भने जन्मदिन मनाउनैका लागि जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्र पुगे । उनले यहाँ आफूले बनाएकी शारीरिक अपांग धर्मबहिनी मैना र उनका अरु अपांगता भएका साथीहरूसँग आफ्नो जन्मदिनको भन्दै केक काटे बहिनीलाई खुवाए, आफूले खाए र त्यहाँ रहेका बहिनीका सबै साथीहरूलाई पनि खुवाए ।
नेपाली तिथिअनुसार राजेशको जन्मदिन बिहीबार हो । तर, अंग्रजी तिथिअनुसार यसपटक उनको जन्मदिन शुक्रबार परेको छ । बुधबारदेखि जन्मदिन मनाउन सुरु गरेका राजेशले बुधबार सिनेकर्मीहरूसँग र बिहीबार अपांगता भएकाहरूसँग जन्मदिन मनाए । उनले शुक्रबार भने आफन्तहरूसँग जन्मदिन मनाएर ४९औँ वर्षमा टेकेका छन् ।

नेतालाई लाज लाग्ने गरी जनताको कुरा सुनाउँछौं


मदनकृष्ण श्रेष्ठ, सहसंयोजक संविधान सहयोग तथा अनुगमन समिति
संविधानसभाको म्याद तीन महिना थपे लगत्तै केही दिन सकृय भएका दलहरु फेरि अलमलिएका छन् । शान्ति प्रकृया र संविधानको पहिलो मस्यौदा टुंग्याउन कार्यतालिका सार्वजनिक गरेपनि उनीहरु त्यसलाई पूरा गर्ने गरी ठोस गृहकार्यमा जुटेका छैनन् । यसले फेरि पनि भदौ १४ मा शान्ति र संविधानको काम पूरा नहुने हो की भन्ने आशंका बढाएको छ । पाँच बुँदे सहमतिको अनुगमन गर्न संसदीय समिति गठनको चर्चा चलेपनि त्यो पूरा हुन पाएको छैन । नागरिक स्तरबाट भने यस्तै खालको समिति बनेको छ । संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको संयोजकत्वमा संविधान सहयोग तथा अनुगमन समिति हालै गठन भएको हो । समितिमा लोकप्रिय हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, बार एशोसियनका अध्यक्ष प्रेमबहादुर खड्का, उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, पत्रकार कनकमणि दीक्षित र मानवअधिकारकर्मी सुशिल प्याकुरेल छन् ।
समितिले कसरी काम गर्छ त ? यसैबारे हामीले समितिका सहसंयोजक मदनकृष्ण श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानी ।
नागरिक अनुगमन समिति के को लागि ?
दलहरुले तीन महिनाको लागि संविधानसभाको म्याद थपेका छन् । यस अवधिमा उनीहरुले आफ्नो प्रतिबद्धता अनुसार काम गरुन् भन्ने नै हाम्रो चाहना हो । हामी कुनैपनि पार्टीको नजिक छैनौं । हरिवंश र मैले त सबैपार्टीका समदूरी र समसामिप्य भएर बसिरहेका छौं । हामीलाई धेरैले शान्ति र संविधानको लागि दलहरुलाई झक्झाउनुपर्यो भनेर अनुरोध गर्नुभयो । हामीले आफ्नो ढंगबाट त गर्दै आएका थियौं । तर जनआन्दोलनमा जस्तै प्रत्यक्ष ढंगले नै लाग्नुपर्ने धेरैको सुझाव आएपछि हामी दुईजना मात्रै भन्दा पनि समाजका अरु प्रतिष्ठित क्षेत्र र व्यक्तिको सहभागितामा यो समिति गठन गरिएको हो ।
तपाईंहरुको अनुगमन र खबरदारीले कत्तिको काम गर्ला जस्तो लाग्छ ?
केही न केही कसो नहोला ? ठाउँ-ठाउँमा पनि अनुगमन समिति गठन भएको छ । सबैले खबरदारी गर्नुपर्छ । सबै क्षेत्रबाट भैरहेको पनि छ । बाटोमा जसलाई भेट्यो उसले नेतालाई मात्रै गाली गरेको सुनिन्छ । जनताले धेरै गाली गर्दा पनि नेताले टेरपुच्छर लगाएका छैनन् । मतलब नभाको जस्तै देखिन्छ । जनताले त तिमीहरुलाई यसो भनेका छन् नि भनेर नेताहरुलाई भनिदिन आवश्यक छ । देश चलाउने नेताले नै हो । हामीले संसारका धेरै देश घुम्यौं । तर, प्रजातान्त्रिक मुलुकमा मात्र जनताले सुख पाएका छन् । प्रजातन्त्रको विकल्प छैन । लोकतान्त्रिक व्यवस्था र लोकतान्त्रिक संविधान नै हुनुपर्छ । अनि नेताले नै देश चलाउनुपर्छ । यही कुरा बुझाउन नै हामीले अभियान चलाउन लागेका हौं । हाम्रो यो कुरा उहाँहरुले कसो नमान्नुहोला त ? पक्कै पनि हाम्रो अभियानले काम गर्छ जस्तो लाग्छ ।
दलहरुबीचको असहमति झन् झाँगिदैछ, कसरी मिलाउन सक्नुहुन्छ ?
दलहरुले सहमति अनुसार नै काम गर्नुपर्छ । जति असहमति हुन्छ, त्यसले झन् समस्या निम्त्याउँछ । शान्ति र संविधानको काम अलमलमा पर्छ । यसो विचार गर्नुस् त नेताहरुभन्दा किसान, मजदूर, डाक्टर, ईञ्जिनियर ठूला हुन्छन् । तर उनीहरु सबैले नेतालाई मान्छन् । किनभने नेताले सबैलाई एकसूत्रमा बाँधेर राख्न सक्छ । सबैलाई एकतामा ल्याउन सक्छ । तर जुन नेताले आफ्नै पार्टीभित्र मिलाउन सक्दैन, ऊ सक्षम नेता नै होइन । उसमा पक्कै पनि केही न केही कमजोरी छ ।
तर, आत्तिनु हुँदैन । उसले प्रयास गरेर यसलाई सच्याउन सक्छ । सक्षम नेता बन्न सक्छ । आफ्नो पार्टीभित्र र अरु पार्टीलाई समेत मिलाएर शान्ति र संविधानको काम फत्ते गरेर देखाउनुपर्छ । अनि मात्र जनताले उसलाई मान्छन् । जनताले गाली गर्ने स्थिति आउन दिनुहुँदैन । यति कुरा बुझे भने त नेताहरु सहमति आईहाल्छन् नि । यही कुरा बुझाउने हो हामीले उहाँहरुलाई भेटेर ।
यसको लागि कसरी काम गर्ने योजना छ ?
हामी सबै शीर्ष नेताहरुलाई भेट्छौं । सभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस सभापति सुशील कोईराला, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशलाई भेटिसकेका छौं । अरुलाई पनि भेट्छौं । भेटमा हामी उहाँहरुलाई जनताको धारणा सुनाउँछौं । जनताले त गाली गरेका छन्, यसो भनेका छन् भनेर सबै कुरा भन्छौं । लाज लाग्ने गरी जनताले भन्ने सबै कुरा सुनाउँछौं । अनि १५÷१५ दिनमा शान्ति र संविधानको लागि भएका कामबारे जनतालाई थाहा दिन्छौं । यति काम भयो, यति भएन, अब यति बाँकी छ भनेर थाहा दिन्छौं ।
यस्तो काम गर्न ढिलो भएन र ? जेठ १४ अघि नै गरेको भए केही हुनेथियो की ?
आफ्नो ढंगले त हामीले पहिले पनि त गर्दै आएका हौं नि । अहिले त नयाँ अभियान मात्र शुरु गर्न लागिएको हो । हामीले त पहिलेदेखि नै आफ्नो प्रस्तुति मार्फत खबरदारीको काम गर्दै आएका छौं नि ।

नेपालको नारायणहिटी दरबार

नेपालको नारायणहिटी दरबार